अब इन्‍टरनेट र मोबाइल बैंकिङका साथै जुनसुकै एटीएम पनि निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं : अब जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने भएको छ। नोभल कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिने भएका हुन्।

यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो। अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्न सकिने भएको छ।

बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन्। यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ। यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन्।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। उनीहरुले अत्यावश्यक अवस्थामाबाहेक बैंक शाखामा नजान आग्रह गरेका छन्। बैंकरहरुले नोट (पैसा) बाट अत्यन्त चाँडो र सजिलै भाइरस संक्रमण हुने जोखिम भएको भन्दै नगद कारोबार सकेसम्म कम गर्न आग्रह गरेका छन्।

विश्वव्यापी रुपमै नगद पैसाको कारणले रोगको संक्रमण छिटो भएको ‘रिपोर्टिङ’ भएको छ। तर, विश्व स्वास्थ्य संगठनले भने दश दिनअघि बक्तव्य नै निकालेर नोटका कारण भाइरसको तीव्रता नबढेको बताएको थियो।

ads

ads