यूएईमा कोरोना सङ्क्रमण देखिएका दुई नेपालीको अवस्था सामान्य

यूएई – यूएईमा कोरोना सङ्क्रमित दुई नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका दुई नेपालीको उपचार यहाँको सरकारी संयन्त्रले व्यवस्थित रुपमा निःशुल्क गरिरहेकोले अवस्था सामान्य रहेको छ ।

दूतावासले कोरोना सङ्क्रमित नेपालीको अवस्थाबारे यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उपनियोग प्रमुख रीता धितालले बताउनुभयो । संक्रमित आफैं परिवारसँग नियमित सम्पर्कमा रहेकाले दुवै नेपालीको पहिचान भने खुलाइएको छैन । कोरोना देखिएकालाई तत्काल स्वदेश फर्काउने अवस्था छैन । तर पनि सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ ।

कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् । वार्षिक बिदा लिन बाँकी रहेकाहरुलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत बेतलबी बिदा लिन भनिएको दुबईको एक होटलमा कार्यरत धादिङका रमेश थापाले बताउनुभयो । कम्पनीले आफ्नो देशको अवस्था हेरेर घर फर्कन अथवा स्थानीय बिदामा बस्न भनेपछि धेरै श्रमिकको रोजगारी गुम्ने कुराले चिन्तामा परेका छन् ।

खासगरी सेवा प्रदायक क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेका हुन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षा गार्डमा काम गर्ने नेपाली श्रमिकहरुमा कोरोनाको असर देखिन्छ । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र सुनसान हुन थालेका छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको रुपमा घोषणा गरेपछि यहाँको सरकारलेसमेत उच्च सतर्कता अपनाएको छ । पर्यटकीय स्थल, बार, नाइट क्लब, रेस्टुरेन्ट, मानिसको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालय, सिनेमा हल बन्द गरिएको छ । साथै यूएई भ्रमणमा आउनेहरुका लागि मंगलबारदेखि भिसा समेत बन्द हुँदैछ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ । यूएईमा सोमबार बिहानसम्म ९८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सङ्क्रमितमध्ये २३ जना निको भैसकेका छन् ।

ads

ads