चितुवाको आक्रमणबाट ८ वर्षीय बालिकाको ज्यान गयो

बैतडी : चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ। सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका-९ का पदमराम लुहारकी ८ वर्षीय छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ।

लुहारलाई चितुवाले लगेको र ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ।

चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई सुतिरहेको बेला लगेको हो। ‘मंगलबार बिहान चार बजेतिर घटना भएको रहेछ’ प्रहरी नायव उपरीक्षक पाण्डेयले भने, ‘अहिले सो ठाउँमा प्रहरी परिचालन गरेका छौं।’

यही फागुन २१ गते राती पनि चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका-४ खडितका १५ वर्षीय बालक हर्कबहादुर साउँद घाइते भएका थिए। २०६८ साल यता बैतडी तल्लोसोराडमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ।

चितुवाले घरभित्रै पसेर क्षति पुर्याउन थालेपछि गाउँमा त्रास फैलिएको वडा नं ९ का अध्यक्ष नारद भट्टले बताए। उनले भने ‘चितुवाको त्रासले बालबालिकाहरुलाई विद्यालय पठाउन समेत समस्या भएको छ। जसरी भए पनि नरभक्षी चितुवा मानुपर्ने यहाँका स्थानीयहरुको माग छ।’

चितुवा मार्न भनेर केही वर्ष पहिला प्रहरी र सशस्त्र प्रहरी खटाएको पनि मार्न सकिएको थिएन्। अहिले फेरि चितुवाले आक्रमण गर्न थालेपछि त्यो क्षेत्रका प्रहरी चौकीबाट गस्तीमा प्रहरी खटाउने गरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।

ads

ads