पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । योगेश र रवीन्द्रको जोडी ०७१ सालको एमालेको नवौं महाधिवेशनमा मात्र अलग भयो । त्यसबेला योगेश माधव नेपाल प्यानलबाट सचिव उम्मेदवार भए भने रवीन्द्र केपी ओली प्यानलबाट केन्द्रीय सदस्य तर, बेग्लै गुटमा लागे पनि उनीहरुबीचको हार्दिकता र सहयोग कायमै भयो । रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा योगेश प्रायः अधिकारीकै कार्यकक्षमा भेटिन्थे ।

कस्तो संयोग ! रवीन्द्रले योगेशकै जिल्ला ताप्लेजुङमा पुगेर आफ्नो जीवन गुमाए । अनि योगेशले रवीन्द्रको निधनपछि रिक्त रहेको त्यही पर्यटन मन्त्रालय ६ महिनापछि सम्हाल्नुपर्ने भयो ।रवीन्द्रले योगेशसँग देशको समृद्धि र विकास अनि पार्टीको भविश्यका धेरै सपना सुनाएका थिए । अब रवीन्द्रका बाँकी सपना पूरा गर्ने अभिभारा पनि योगेशकै काँधमा आएको छ ।

नेपाली राजनीतिका चर्चित र आशा गरिएका नेता हुन् योगेश भट्टराई । त्यस्तै थिए रवीन्द्र पनि । पर्यटनमन्त्री भएपछि रवीन्द्रले धेरै काम नगरेका होइनन् । विशेष गरी त्रिभुवन विमानस्थलको सुधार, आन्तरिक विमानस्थहरु निर्माणदेखि पर्यटन विकासमा उनको अभाव अहिले आएर खड्किरहेको छ । वाइडबडी काण्डमा आफू निर्दोष रहेको पुष्टि गर्न नपाउँदै उनको निधन भयो ।

रवीन्द्रसँगजस्तै योगेशसँग पनि आम मान्छेले धेरै अपेक्षा गरेका छन् । धेरै अपेक्षा गरिएका र आशलाग्दा नेताबाट आशातीत काम नहुँदा शुभेच्छुकहरु निराश हुने गरेको यथार्थ योगेशले बुझेका छन् । हाम्रो देशको सरकारी संयन्त्रका कारण चाहेर पनि सोचेजस्तो काम गर्न सकिन्न भन्ने पनि उनले बुझेकै छन् । चुनौति छन् भनेर जिम्मेवारीबाट भाग्न कुनै नेतालाई छुट छैन । यो पनि योगेशले बुझेकै हुनुपर्छ ।

अहिलेसम्म योगेश भट्टराई नेकपाभित्र कुनै दाग नलागेका र जनपक्षीय काम गर्ने नेताका रुपमा स्थापित छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको पदाधिकारी तहमा पुगेर खारिए पनि जनप्रतिनिधिका रुपमा उनी नयाँ हुन् । ४० को दशकमा महेन्द्र रत्न क्याम्पस ताहाचलको सभापति भएपछि एकैचोटि ०७४ मा ताप्लेजुङबाट सांसद बनेका भट्टराई सांसद भएको डेढ वर्षमै मन्त्री बन्न सफल भएका छन् ।

ads

ads