देउवाले ‘झुक्याए’ पछि जिल्ला सभापतिहरु ‘रुष्ट’, विशेष महाधिवेशन थाल्ने दिए चेतावनी

काठमाडाैं, २१ फागुन – कांग्रेस सभापतिले महासमिति वैठकमा आफैले बालेको कुरा आफैले लत्याएपछि रुष्ट बनेका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् ।

महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचन विपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरु देउवासँग चिढिएका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो ।

महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यस विपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्ने गरी विधान पास गरेपछि बिच्किएका जिल्ला सभापतिहरुले अब विशेष महाधिवेशनको प्रक्रिया थाल्ने चेतावनी दिएका हुन् ।

कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, जिल्ला सभापतिहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले केन्द्रीय कार्य समितिको निर्णय पुनर्विचार गर्न समेत माग गरेका छन् । ‘अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौं’ ५६ जिल्लाका सभापतिहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ । पार्टीको विशेष महाधिवेशनलाई पर सारेर देउवाले कार्यकाल लम्ब्याउन खोजेको आरोप पनि लाग्दै आएको छ ।

ads

ads