मन्त्रीले कारबाही गर्ने चेतावनी दिएपछि पौडेलद्वारा राजीनामा

काठमाडौँ, २२ माघ । चलचित्र विकास बोर्डको अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएकी छिन् । बुधवारबाट लागु हुने गरी बोर्डको अध्यक्षबाट राजीनामा दिएका एक बिज्ञपतीमा जानकारी दिएकी छन् ।

उनले विज्ञप्तिमा आफ्नो व्यक्तिगत जीवन व्यस्त रहेको उल्लेख गर्दै राजीनामा दिएको उल्लेख गरेकी छिन् । उनले विज्ञप्ति मार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई राजीनामा पेस गरेको बताएकी छन् ।

उनले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली सुरुवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएकोमा खुसी रहेको पनि बिज्ञपतीमा उल्लेख गरेकी छिन् । पौडेल २०७४ मङ्सिर २५ गते तत्कालीन मन्त्रिपरिषको निर्णय अनुसार विकास बोर्डको अध्यक्ष नियुक्त भएकी थिइन् ।

गत आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले महत्त्वपूर्ण बैठकमा बोर्डका अध्यक्ष नै अनुपस्थित भएको भन्दै आक्रोश पोखेका थिए । उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो । तर बोर्डको अध्यक्ष पौडेललाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई अध्यक्ष पौडेलसँग स्पष्टीकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए ।

ads

ads