देश चाडै भिकारीमुक्त हुनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सडकमा कोही बेसहारा देखिए खबर गर्न आग्रह गरेका छन्। सरकारले बेसहरा नागरिकलाई उचित व्यवस्था गर्ने बताउँदै प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिने बताए।

ललितपुरको भैंसेपाटीमा सोमबार मन्त्री निवास शिलान्यास गर्दै ओलीले भने, ‘सडकमा कुनै नागरि बेसहारा बसेको भए खबर गर्नुस्। देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिन्छ।’ प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

विकास निर्माणको कामलाई सरकारले तीव्रता दिए पनि ती कामहरूको चर्चा नभएको उनको भनाइ छ। ‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ,’ उनले भने, ‘नन इस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

ओलीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिएको भन्दै सरकारले विकासलाई प्राथमिकतामा राखेको बताए। मेलम्ची खानेपानी आयोजनाका काम ठेकेदार भागेका कारण केही ढिलाइ भए पनि अब छिट्टै आयोजनाको काम सकिने उनले बताए।

ads

ads