काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म, पसल खोल्ने समय बिहान मात्र

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनप्रियखबरलाई जानकारी दिए ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

ads

ads