अप्पर तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो

दोलखा, वैशाख १६ । अप्पर तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा बिहिबार पानी खसालिएको छ ।

कुल ४५६ मेगावाटको जलविद्युत उत्पादनको उक्त प्रोजेक्टको सुरुङ मार्गमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधि मन्त्री पार्वत गुरूङले स्वीचमार्फत् पानी खसालेका हुन् ।

जलविद्युतको सुरुङ टनेलमा पानी पठाउँदै मन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरियो । नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो ।’

सो अवसरमा मन्त्री गुरुङले उक्त आयोजनको व्यवसायिक उत्पादन वैशाख भित्र थालनी हुने र त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्नु हुनेछ ।

यो सँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

ads

ads