नेपाललाई घरलु मैदानमा पहिलोपटक टी–२० क्रिकेट सिरिजको उपाधि

काठमाडौँ, ११ वैशाख । नेपालले घरलु मैदानमा पहिलोपटक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्समाथि १४२ शानदार जित निकाल्दै घरेलु टोली नेपालले टी–२० सिरिजको उपाधि उचालेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओ‘डडले सर्वाधिक धेरै २० रन जोडे । कप्तान पिटर सिलारले १३ रन बनाउँदा सेबस्टीयन ब्रातले अजिवित २२ रन जोडे । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालका करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए ।

त्यसअधि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । यो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको सर्वाधिक ठूलो योगफल हो । नेपालले यसअघि यही सिरिजमा २१८ रन बनाएको थियो ।

नेपालले सन् २०१९ मा भुटानविरुद्ध २३६ रनको योगफल तयार गरेको थियो । त्यो नै अहिलेसम्मको ठूलो योगफल थियो । तर नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले सर्वाधिक धेरै रन बनाउँदै कीर्तिमानसमेत रच्यो ।

नेपालका लागि कुशल भुर्तेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए ।

नेदरल्याण्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रन बनाएका थिए । उनले जारी सिरिजमा चौथो पटक अर्धशतक प्रहार गरेका हुन् ।

कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

यस्तै, कुशल मल्लले अजिवितत ५० रन जोडे भने दीपेन्द्र सिंह ऐरीले नटआउट ४८ रन बनाए । आशिफ शेखले १६ रन जोडे । नेदरल्यान्ड्सका फिलिपे बोइसेभेनले २ तथा सेबास्टिय ब्रातले १ विकेट लिए ।

यससँगै नेपालले कीर्तिमानी पहिलोपटक घरेलु मैदानमा टी–२० सिरिजको उपाधि जितेको छ ।

यसअघि नेपालले सन् २०१९ मा नेपाल भएको साग गेम्समा पहिलोपल्ट टी–२० सिरिज खेलेको थियो । तर त्यसबेला उपाधि बङ्गलादेशको यु–२३ टिमले जितेका कारण नेपाल घरेलु भूमिमा टी–२० सिरिजको उपाधि जित्ने सपना अधूरै रह्यो ।

नेपालले शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक सिरिजको फाइनलमा स्थान पक्का गरेको हो भने नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

ads

ads