मलेसियामाथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ, वैशाख ९ । घरेलु टिम नेपालले त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटअन्तर्गत मलेसियालाई हराएको छ । बिहीबार लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले हराएको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा नेपालले ७ विकेटको क्षतिमा दुई सय १७ रन बनाएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा दुई सय छ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध दुई सय ३६ रनको योगफल तयार गरेको थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि करण केसीले ४५ रन बनाए । यस्तै, आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन जोडे ।

दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा कुशल मल्लले अजिवित १९ रन बनाए । कुशल भुर्तेलले १६ रन जोड्दा विनोद भण्डारी ८ रन जोडे ।

मलेसियाका मोहम्मद वाकिफले ४ विकेट लिए भने सिद आजिज र दीभेन्द्रन मार्गने समान १–१ विकेट झारे ।

यससँगै नेपालले मलेसियामाथि लगातार दोस्रो जित निकालेको छ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

जितसँगै नेपाल लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ । मलेसियाविरुद्धको खेलअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

लिगमा नेदरल्यान्ड्सविरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटलाई हराएको नेपालले मलेसियाविरुद्धको दुवै खेल जितेको हो ।

ads

ads