विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक

काठमाडौं । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए । उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताए । घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उनको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा लेखक डा. अर्चना थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन् । समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको उनको भनाइ छ ।

उनले उपन्यासले बहुल नायक प्रस्तुत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको बताइन् । उनले पुस्तक लेखन शैली र कथ्य दुवै हिसाबले बलियो रहेकोमा जोड दिइन् ।

जनयुद्धका क्रममा बेपत्ता पारिएका विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, “यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।”

पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो । ३ सय पृष्ठको उपन्यासको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।

ads

ads