प्रकाश सुवेदीको दुई कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ निलम्बित

पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ निलम्बनमा परेको छन्। एपीवान टेलिभिजन स्रोतका अनुसार टेलिभिजन बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै कार्यक्रम निलम्बन गरेको हो।

सुवेदीले नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवि ओझाको विषयमा कार्यक्रम बनाएपछि एपीवान टेलिभिजनमा उजुरी परेको थियो।

सो कार्यक्रमको विषयमा अदालतले पनि चासो देखाएपछि टेलिभिजनको बोर्ड बैठक बसेको थियो। वैशाख २ गते बसेको बोर्ड बैठकले नायिका पोखरेल र उनका श्रीमान छवि ओझाका विषयमा थप कार्यक्रम नबनाउनू भनिएको थियो।

कार्यक्रम बनाउनै परे शिल्पा पोखरेललाई पनि बोल्ने ठाउँ दिनू भनिएको स्रोतले बतायो। ‘उहाँले शिल्पाजीलाई बोलाउन खोज्दा आउन मान्नुभएन। त्यसपछि फ्लोअप नगर्न भनिएको थियो,’ स्रोतले भन्यो,’त्यसैबीच उहाँले छवि ओझालाई बोलाउनु भयो। व्यवस्थापनको नीति अवज्ञा भयो भनेर हामीले अर्को निर्णय नहुञ्जेल निलम्बन गरेका हौं।’

सुवेदीका ती कार्यक्रममा प्रस्तुत गरिएका विषयका कारण यसअघि पनि विवादमा पर्ने गरेका थिए। कार्यक्रम निलम्बन भएको बारे समाचार बाहिरिए पनि आधिकारिक रूपमा जानकारी नआएको प्रकाश सुवेदीले बताए।

‘अहिलेसम्म मलाई जानकारी छैन। समाचार आएको भएर मलाई फोन आइरहेको छ। म त कार्यक्रम बनाइरहेको छु,’ सुवेदीले भने,’यदि रोक्ने नै भए पनि टिभीमा रोकिएला युट्युब आफ्नै हो। त्यहाँ रोकिन्न। आउँदो बिहीबार प्रशारण भएन भने रोकिएको भनेर बुझ्नुपर्ला।’

कार्यक्रम निलम्बनमा परेको समाचार आएपछि अरू टेलिभिजन च्यानलहरूले आफ्नोमा चलाउन भन्दै सम्पर्क गरेको उनले बताए।

ads

ads