आजबाट विक्रम संवत् ‘२०७८’ शुरूवात

काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर ‘२०७८’ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।

नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराई ले बताउनुभयो ।

विक्रम ६० संवसर मध्ये आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्सरका विशेषतादेखि इश्वी संवतको व्यावहारिक गुण यसभित्र समावेश गरिएको हुन्छ, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतसरको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतसरमा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

विश्वका जुनसुकै कुनामा बस्‍ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् ।

ads

ads