गोवा घुम्न आफ्नै अपहरणको नाटक

जनकपुर — भारतको पर्यटकीयस्थल गोवा घुम्नका लागि पैंसाको जोहो गर्न आफ्नै अपहरणको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना दुई साथीसँग मिलेर अपहरणको नाटक गर्ने जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साहसहित घटनामा संलग्न दुई अन्य युवकका साथ जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । साहसँगै जनकपुरधाम–२३ का २० वर्षीय समसाद नदाफ र रौतहट जिल्ला गढीमाई नगरपालिका–८ वस्ने २५ वर्षीय अरविन्द यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घटना सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसपी खनालले आफ्नै अपहरणको नाटक गर्ने साह र उनका दुई साथीमाथि सार्वजनिक हितविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । अजयले आफै काठमाडाैं गएर आफ्ना दुबै साथीमार्फत आमा बुवालाई १५ लाख फिरौती माग्न लगाएका थिए । अजयका आमाबुवा ५ लाख फिरौती तिर्न तयार पनि भइसकेका थिए । गाउँलेको सल्लाहमा आमा रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएकी थिइन । एसपी खनालका अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल नम्बरलाई ट्रेस गरी प्रहरीको विशेष टोलीले जनकपुर १६ पुलचोकबाट समसादलाई र समसादको सूचनाको आधारमा अरविन्दलाई पक्राउ गरेको थियो । ‘त्यस पछि हामीले दुबै युवकलाई फिरौती रकम प्राप्त भयो भनेर अजयलाई फोन गर्न लगायौं । त्यसपछि अजय काठमाडांैबाट जनकपुर आए र उनलाई पनि पक्राउ गर्यौ,’ एसपी खनालले भने । एसईईसम्म पढाई गरेका तीनै युवक लागूऔषध दुव्र्यसनी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ads

ads