मोबाइल फोन प्रयोग गर्ने चालकलाई समात्नका लागि नयाँ प्रविधि

अस्ट्रेलियामा सवारीाधन चलाउने क्रममा मोबाइल फोन प्रयोग गर्ने चालकलाई समात्नका लागि नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको सहर न्यू साउथ वेल्सनका सडक मन्त्री एन्ड्रियु कोन्सटेन्सले सोमबार विश्वमै सवारी चलाउने क्रममा फोन प्रयोग गर्नेलाई समात्नका लागि पहिलो पटक प्रविधि प्रयोग गर्न पाउने नियम बनाइएको बताएका छन् ।

सवारी चलाउने क्रममा सामाजिक सञ्‍जाल चलाउने, म्यासेज गर्ने तथा फोन गर्ने चालकलाई सजाय गर्नका लागि उक्त प्रविधि प्रयोग गर्न लागिएको उनले बताए । सडक सुक्षा विज्ञहरुले सवारी चलाउने क्रममा फोन प्रयोग गर्दा दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । विज्ञहरुका अनुसार जसले सवारी चलाउने क्रममा फोन प्रयोग गर्छन् । उनीहरु नै दुर्घटनाको जोखिममा पर्ने सम्भावना चार गुणा बढी छ ।

“मदिरा सेवन गरेर मोबाइल चलाउनु र मोबाइल प्रयोग गरेर सवारी चलाउनु उस्तै हो भन्नेमा कुनै शंका छैन । मदिरा सेवन गरेर सवारी चलाउने र मोबाइल प्रयोग गर्दै सवारी हाँक्ने व्यक्ति जहाँसुकै र जुनसुकै समयमा पनि दुर्घटनामा पर्नसक्छ । त्यसकारण हामी हरेकलाई सवारी चलाउने क्रममा सावधानी अपनाउन आग्रह गर्छौं ,” मन्त्री कोन्स्टान्सले भने ।

उनले डिसेम्बरदेखि राज्यभरी ४५ वटा मोबाइल फोन प्रयोग गरे-नगरेको पत्ता लगाउने क्यामेरा जडान गरिने जानकारी दिए । हरेक स्थान दुई वटा क्यामेरा जडान गरिनेछन् । जसमा एउटा क्यामेराले गाडी नम्बर कैद गर्नेछ भने अर्को क्यामेराले फोन प्रयोग गरे-नगरेको पत्ता लगाउनेछ । उक्त क्यामेराले चालकको हात कहाँ छ भन्‍ने पत्ता लगाउनेछ ।

उक्त युनिटमा एआई प्रविधि जडान गरिनेछ । जसले फोन प्रयोग गरेको थाहा पाएमा सम्बन्धित ठाउँमा सूचना पठाउनेछ र चालकलाई कारबाही गरिनेछ । फोन प्रयोग गरेर सवारी चलाएको थाहा पाएमा ३४४ अमेरिकी डलर जरिबाना गराइने छ ।

छ महिनाअघि परीक्षणका लागि जडान गरिएका दुईवटा क्यामेराले ८.५ मिलियन सवारी दर्ता गरेको छ भने करिब १० लाख चालकले सवारी चलाउँदा मोबाइल फोन तथा आइप्याड प्रयोग गरेको पत्ता लगाएको छ । सरकारले सन् २०२३ सम्ममा १३५ मिलियन सवारी जाँच गर्ने योजनाका साथ उक्त कार्यक्रमलाई विस्तार गरिएको छ । न्यू साउथ वेल्समा ५.२ मिलियन सवारी दर्ता छन् ।

प्रहरीका अनुसार यस वर्षमात्रै १६ हजार पाँच सय चालकलाई अवैधानिक रुपमा फोन प्रयोग गरेको मुद्दामा कारबाही गरेको जनाएको छ । राज्यमा गत वर्ष भएका १३४ सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो ।

ads

ads