विश्व बैकले नेपाललाई कोरोना रोकथाम र खोपका लागि ८.७ अर्ब रुपैयाँ दिने

विश्व बैकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।

यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

पछिल्लो सहयोगको ९० प्रतिशत रकम कोभिड-१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले जनाएको छ । बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ads

ads