कांग्रेसमा सभापतिको दाबेदारिमा ९ जना ।

नेपाली काँग्रेसको नेतृत्व हत्याउनका लागि करिब एक दर्जन नेता मैदानमा देखिएका छन् । अहिलेसम्म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ सभापतिको दौडमा देखिएका छन् । तर, सभापतिको दाबी गर्ने नेताहरूले आफ्नो टीम बनाउन नसक्दा ‘सेनाविनाको जर्नेल’ जस्तै अवस्था देखिएको छ । यस्तै संस्थापन इतर पक्षबाट अर्जुननरसिंह केसी र डा. रामशरण महत पनि सभापतिको दौडमा निस्किने तयारीमा छन् ।

१३ औँ महाधिवेशनमा काँग्रेसभित्र तेस्रो धारको नेताका रूपमा रूपमा उदाएका कृष्णप्रसाद सिटौलाको पनि दौडधुप तीव्र छ । सभापतिको दौडमा देखिएका वर्तमान परिदृश्य महाधिवेशनसम्मै गएको अवस्थामा देउवाबाहेकलाई पदाधिकारीका उम्मेदवार तय गर्न कठिन हुने देखिन्छ । काँग्रेस विधानले १३ पदाधिकारीको व्यवस्था गरेको छ । सभापति पदका अहिले चर्चामा आएका सबै नामले आफ्नो टीमबाट १३–१३ पदाधिकारी जुटाउन कठिन नै हुने देखिन्छ । काँग्रेसको नयाँ विधानले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट निर्वाचित भएर आउने व्यवस्था गरेको छ ।

कुल १६ जना पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने प्रावधान छ ।अहिले सभापतिमा दाबी गरेका १२ नेता नै दौडमा निस्किँदा १५६ जना पदाधिकारीका उम्मेदवार हुने स्थिति देखिन्छ । त्यस्तो अवस्थामा १२७ सदस्यीय (आमन्त्रित केन्द्रीय सदस्यसहित) काँग्रेसको वर्तमान कार्यसमितिबाट पदाधिकारी तय गर्न सङ्ख्या पुग्दैन ।

त्यसमा पनि सभापतिका दाबेदार युवा नेता कल्याण गुरुङले युवा पङ्क्ति आफूसँग जोडिने दाबी गर्दै आएका छन् । तर पौडेल–सिंह र कोइराला परिवार विभाजित हुने अवस्थामा परिणाम प्रतिकुल आउने भएकाले नेताहरू पदाधिकारीमा उठ्ने कि नउठ्ने भन्नेमा पनि अन्योल छ ।

यता, सिटौलालाई पनि पदाधिकारी पाउनै मुस्किल छ । १३ औँ महाधिवेशनमा सिटौला टीमबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा बलियो टीमको खोजीमा छन् । देउवाबाहेक सभापतिका सबै आकाङ्क्षीले थापालाई आफ्नो टीमको महामन्त्री बनाउने बचन देखिएको अवस्था छ । तर थापाले एकीकृत इतर पक्षीय टीमबाट मात्र महामन्त्रीको मैदानमा उत्रिने सोच बनाएको पाइन्छ ।

यस्तै सिटौला समूहका नेता प्रदीप पौडेल पनि बलियो टीमको खोजीमै छन् । उनी सम्भव भए महामन्त्री नभए खस आर्यबाट सहमहामन्त्री बन्ने ध्येयमा छन् ।सिटौला भने आफ्नो टीम १३ औँ महाधिवेशनको भन्दा विस्तारित भएको दाबी गर्छन् । १३ औँ महाधिवेशनको टीम कायम रहने र केही थपिने भन्दै उनले आफ्नो टीममा पदाधिकारी पाउन मुस्किल नहुने बताउँछन् ।

पौडेल पक्षमा सभापतिका आकाङ्क्षी देखिएका नेताहरूले सबैलाई समेटेर जाने ‘रेडिमेड’ जवाफ दिने गरेका छन् । पहिलो प्राथमिकता एकल उम्मेदवारी भएकाले टीमबारे धेरै गृहकार्य नगरेको उनीहरूको भनाइ छ । तर चुनाव जित्न नसकेको अवस्थामा केन्द्रीय कमिटी बाहिर रहनुपर्ने चिन्ताले पनि नेताहरू पदाधिकारीको उम्मेदवार हुने विषयमा गम्भीर देखिएका छन् ।

काँग्रेसको संशोधित विधानमा केन्द्रीय समिति १६९ सदस्यीय हुने व्यवस्था छ । १३ औँ महाधिवेशनबाट निर्वाचित र मनोनीत गरी ८५ सदस्यीय केन्द्रीय समिति आएको थियो । तर अन्य पार्टीबाट आएकालाई राजनीतिक निर्णयका रूपमा केन्द्रीय कमिटीमा ल्याएपछि १२७ सदस्यीय बनेको छ ।

१३ औँ महाधिवेशनमा ६४ सदस्यका लागि निर्वाचन भएको थियो भने १४औँ महाधिवेशनमा १३६ जना निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा ३३ जना मनोनीत हुने व्यवस्था छ । ती ३३ जना समावेशी प्रतिनिधित्वका आधारमा मात्र काँग्रेसमा केन्द्रीय समितिमा मनोनीत हुनेछन् ।

धेरै उम्मेदवार भएको अवस्थामा पदाधिकारीमा चुनाव हार्नेको सङ्ख्या पनि धेरै हुनेमात्र नभई उनीहरूलाई केन्द्रीय समितिमा समेट्न कठिन हुनेछ । चार जनामात्र उम्मेदवार आफ्नो पूर्ण टीमका साथ महाधिवेशनमा जाँदा ५२ जना पदाधिकारीका उम्मेदवार हुने अवस्था छ । तीमध्ये १३ जना निर्वाचित हुँदा ३९ जना पराजित हुन पुग्छन् ।

मनोनीत कोटामा पदाधिकारीमा पराजित भएकालाई मात्र समेट्दा पनि सबै अटाउने अवस्था छैन । यता नयाँ विधानमा महाधिवेशनमा पराजितलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने व्यवस्थासमेत गरिएको छैन । महाधिवेशनमा पराजित भएकालाई केन्द्रीय कमिटीमा ल्याउँदा गुटगत अभ्यास झाङ्गिएको भन्दै नयाँ विधानमा उक्त व्यवस्था हटाइएको छ ।

ads

ads