सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर गरिबको घाँटी सेरेका छौ , तिमीहरुको आयु धेरै छैन- अध्यक्ष ओली

केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित गर्दै आफ्नो नेतृत्वको सरकारले पुल हाल्ने काम गर्दै आएको स्मरण गराएका छन् । दार्चुला घटनाबारे टिप्पणी गर्दै उनले सत्ता पक्षबाट ‘ओलीले तुइन विस्थापित गर्छु’ भनेर पनि नगरेका कारण यस्तो घटना हुन पुगेको भन्ने खालका प्रतिक्रिया आएको जनाए ।

आफू सरकारमा आउनु अघि महाकाली नदीमा पुल बनाउन भारतले सहमति नदिने गरेको पनि उनले उल्लेख गरे । ‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलह रु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’

उनले अघिल्लो सरकारले गरेका कतिपय कामलाई नचाहेर पनि अहिलेको सरकारले निरन्तरता दिन बाध्य हुने बताए ।

अन्तिम सन्दर्भमा :

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’

नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गर्दै संसद्मा यस्तो बताएका हुन् ।

 

अध्यक्ष ओलीले उठान गरेको अर्को सन्दर्भ :-

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन् ।

उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्डलगायतका सत्ता गठबन्धनलाई ओलीले सुझाए ।

‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे खादा ओढाएर द्वन्द्व पीडितलाई अल्मल्याउन खोजेको ?’, ओलीले मंगलबार संसदमा भने, ‘घाइतेहरुको उपचार गराउन भन्नुस् न, घाइतेहरुको शरीरमा भएको गोली झिक्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने नेकपा एमालेको केन्द्रीय कार्यालय अहिले थापाथलीमा छ, त्यहाँ पठाइदनिुस् म गर्छु ।’

उनले गौर हत्याकाण्डलगायतका अराजक गतिविधिको छानबिन गर्न पनि सरकारलाई सुझाए । यस्तै क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, मातातीर्थ प्रकरणलगायतमा भएको भ्रष्टाचार छानबिन गर्न समेत ओलीले सरकारलाई सुझाए ।

 

 

 

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् । ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीको भनाइ छ ।

उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् । उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए ।

​ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन् । ‘तर सरकार परिवर्तन हुँदा गठबन्धनका नेताहरू दसैँ आए जसरी उफ्रनुभएको छ । एक महिनासम्म बधाई खाइरहनुभएको छ’, गठबन्धन सरकारप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘यो सरकारले केही नगरेको भन्दा पनि गरेको छ । सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर घाँटी सेरेको छ ।’

उनले वर्तमान सरकार परिवर्तनको विषय विकृत तरिकाबाट भएको भन्दै आफूमाथि प्रहार भइरहेको भन्दै आफू सुखी नेपाल, समृद्ध नेपालीको उद्देश्य बोकेर हिँडेको मान्छेलाई गाली गलौचले फरक नपार्ने बताए । उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न नदिने भनेकाले आफ्नै पार्टीभित्रका साथीहरूलाई समस्या परेको हुनसक्ने बताए ।

”म असाधारण जनमतका साथ फेरि मूल ढोका बाट फर्किन्छु । म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनि राख्नु भए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट, मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु । मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्‍या, जलन आदिको समिश्रण बाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’’

 

ads

ads